सुर्खेत । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेशनल लेजिसलेटिभ एकाडेमीले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधान कार्यान्वयन सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
नेपालको संविधान ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको बताउनुभयो । ‘संविधानको सफल कार्यान्वयन हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ । संविधानले दिएको अधिकारको सदुपयोग गर्दै विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नु हाम्रो दायित्व हो’ उहाँले भन्नुभयो, ‘संविधानमा गरेका व्यवस्थालाई व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।’
संविधानको उपलब्धिलाई संस्थागत गर्दै संघीयताको सबलीकरणका लागि आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो । संविधानको व्यवस्थालाई व्यवहारमा उतार्न कानुन, नीति निर्माण, संस्थागत क्षमता अभिवृद्धि, अन्तरसरकारी समन्वय र राजनीतिक प्रतिबद्धता अत्यन्त आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।







