
यामराज बिष्ट
समय बित्दै जान्छ, पात्रहरू बदलिन्छन् र घटनाहरू इतिहासका पानामा सीमित हुँदै जान्छन्। तर सत्य, न्याय र मानवअधिकारका लागि उठाइएका आवाजहरू समयसँगै झन् अर्थपूर्ण बन्छन्। पत्रकार तथा मानवअधिकारका पक्षमा निरन्तर आवाज उठाउने स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको स्मृति पनि यही अर्थमा आजको पुस्ताका लागि उत्तिकै सान्दर्भिक छ।
दैलेख सदरमुकामका लागि ल्याइएको खानेपानीको मुहान मर्मतका लागि गएका पत्रकार डेकेन्द्रराज थापालाई विसं २०६१ असार १२ गते माओवादी कार्यकर्ताले अपहरण गरेको आरोप लागेको थियो। त्यसपछि उहाँलाई बन्धक बनाइएको र विसं २०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्वारीमा कुटपिट गरी हत्या गरिएको आरोप द्वन्द्वकालमाओवादी कार्यकर्तामाथि लाग्यो।
थापाको द्वन्द्वकालमा माओवादीबाट हत्या भएको दुई दशकभन्दा बढी समय बितिसकेको छ। तर उहाँको स्मृति केवल एक व्यक्तिको सम्झनामा सीमित छैन। यो राज्य, समाज र न्यायिक प्रणालीसँग जोडिएको एउटा गम्भीर प्रश्न पनि हो—द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पीडितले कहिले न्याय पाउने ?
पत्रकारितालाई पेशामात्र होइन, समाजप्रतिको जिम्मेवारीका रूपमा लिने थापाले सत्य र अन्यायविरुद्ध कलम चलाउनुभएको थियो। उहाँको हत्या नेपाली पत्रकारिताको इतिहासमा एउटा पीडादायी अध्याय हो। एउटा पत्रकारको हत्या हुनु भनेको एउटा व्यक्तिको जीवन अन्त्य हुनु मात्र होइन, समाजले सत्य बोल्ने एउटा आवाज गुमाउनु पनि हो।
त्यसैले डेकेन्द्रको स्मृति दिवस हरेक वर्ष मनाइरहँदा श्रद्धाञ्जलीका शब्द र औपचारिक कार्यक्रमले मात्र पुग्दैन। उहाँले उठाउनुभएको प्रश्नहरूको जवाफ खोजिनुपर्छ। परिवारले भोगेको पीडा, न्यायको प्रतीक्षा र घटनासँग जोडिएका प्रश्नहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ।
नेपालको शान्ति प्रक्रियाले लामो यात्रा तय गरिसकेको छ। तर द्वन्द्वका घाउ अझै पूर्ण रूपमा निको भएका छैनन्। सत्य निरूपण, पीडितको न्याय र दोषीमाथिको कानुनी कारबाहीका विषयमा अझै धेरै काम गर्न बाँकी छ। संक्रमणकालीन न्यायलाई राजनीतिक स्वार्थ, सत्ता समीकरण वा समयको बहानामा अनिश्चितकालसम्म अल्झाइराख्नु पीडितप्रतिको अन्याय हो।
डेकेन्द्रको घटना एउटा परिवारको मात्र पीडा होइन। यो पत्रकारिता, मानवअधिकार र कानुनी शासनको प्रश्नसँग जोडिएको विषय हो। पत्रकारले सत्य लेखेकै कारण असुरक्षित हुनुपर्ने अवस्था लोकतन्त्रका लागि स्वीकार्य हुन सक्दैन। लोकतन्त्रको वास्तविक परीक्षा निर्वाचन वा सरकार परिवर्तनमा मात्र हुँदैन, कमजोर, पीडित र न्यायको प्रतीक्षामा रहेका नागरिकलाई राज्यले कति न्याय दिन्छ भन्ने कुरामा पनि हुन्छ।
आज डेकेन्द्रको २२औँ स्मृति दिवस मनाउँदै गर्दा उहाँलाई सम्झने सबैभन्दा अर्थपूर्ण तरिका उहाँको तस्वीरमा माल्यार्पण गर्नु मात्र होइन, उहाँले विश्वास गरेको सत्य र न्यायको बाटोमा अघि बढ्नु हो। पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको संरक्षण र दण्डहीनताको अन्त्यका लागि समाज तथा राज्य दुवै जिम्मेवार बन्नुपर्छ।
स्मृति दिवसले विगत सम्झाउने मात्र होइन, भविष्यका लागि बाटो पनि देखाउनुपर्छ। डेकेन्द्रराज थापाको स्मृति त्यतिबेला सार्थक हुनेछ, जब पीडितले न्याय पाउनेछन्, पत्रकारले निर्भय भएर कलम चलाउन पाउनेछन् र मानवअधिकार उल्लङ्घन गर्ने जोसुकै व्यक्ति कानुनको दायरामा आउनेछ।
थापाको स्मृति केवल सम्झनाका लागि होइन, न्यायको अधुरो यात्रालाई पूरा गर्नका लागि पनि हो।
यामराज बिष्ट कर्णाली कागजका प्रधानसम्पादक हुनुहुन्छ ।








